New Muslims APP

इस्लाम सबैको लागि

इस्लाम

इस्लाम सबैको लागि

इस्लाम पूर्ण जीवन व्यवस्था हो । यसले मानवलाई जीवनको प्रत्येक क्षेत्रमा सत्य निर्देशन दिन्छ । चाहे मानवको व्यक्तिगत जीवन होस् वा सामूहिक । आस्थासँग सम्बन्धित होस् वा मानवको समाजिक आर्थिक र राजनीतिक पक्षमा होस् । इस्लामले यी सम्पूर्ण क्षेत्रहरुमा आफ्नो स्पष्ट निर्देशन दिन्छ। इस्लामले मानवलाई एकै इकाईको रुपमा हेरेको छ । मानव जीवनलाई विभिन्न खण्डमा विभाजित नगरी वासनाको बाटो देखि एक सफल कल्याणकारी राज्यको स्थापनासम्म यसले निर्देशन दिन्छ । यस अर्थमा इस्लाम धर्म अरु धर्म भन्दा बेग्लै छ।

इस्लामको पहिलो आधार एकेश्वरवादप्रतिको इमान अर्थात आस्था हो । एकेश्वरवादप्रति आस्था भन्नाले एक अल्लाह माथि आस्था राख्नु पर्छ भन्ने बुझाउँछ । अल्लाह एक छन्, अल्लाहको बराबरी कोही छैनन्, उ न कोहीबाट जन्मेको हो र न उसले कसैलाई जन्माएको छ। उनै अल्लाह हुन, जसले हामी सबैलाई रोजी दिन्छन् । उनै अल्लाह हुन, जसले हामी सबैको प्रयोग र फाइदाको लागि यो प्रकृति बनाए । उनी बाहेको अरु कोही उपास्य छैन ।

अल्लाहले भन्नु भएको छः أَنَّمَا إِلَـٰهُكُمْ إِلَـٰهٌ وَاحِد                                                                                                                                                       अर्थः “तिमीहरुका पूज्य केवल एक छन्। (सूरह अम्बिया, आयतः १०८)

त्यस्तै सूरह अल बक़रामा भन्नुभएको छः

يَا أَيُّهَا النَّاسُ اعْبُدُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ وَالَّذِينَ مِن قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ

अर्थः हे मानव त्यस रबको दासत्व स्वीकार गर जसले तिमी र तिमी भन्दा अघिका मानिसहरुको सृष्टि गरे, आशा छ कि तिमीहरु नरकबाट बच्न सक्नेछौ। (सूरह अल बक़रा, आयत नं.- २१)

यस आयतमा अल्लाहले- या अय्योहल्लज़ीन आमनु अर्थात ए ईमानवाला नभनेर या अय्योहल्नासु भन्नु भएको छ। अर्थात हे मानिसहरु । र अल्लाहले हामी सबै मानिसहरुलाई केन्द्रित गरेर भन्नु भएको छ कि हामी त्यो एक अल्लाहको उपासना गरौं। जसले हामी र हामी भन्दा पहिलेका मानिसहरुलाई जन्म दिनु भयो । ताकि हामी ईशभय अल्लाहका डर मान्ने मध्येका भइहालौँ । त्यसैले एक ईश्वरको उपसना गर्नु हामी मुसलमान मात्र होइन यो संसारको प्रत्येक व्यक्तिको कर्तव्य हो । जसरी अल्लाहले आफ्नो वर्दान मध्ये यो सूर्यको प्रकाश विना भेदभाव बराबरी प्रदान गरेका छन्  त्यस्तै हामी पनि एक अर्कामा विभाजित नभईकन त्यो एक अल्लाहको उपासना गर्नुपर्छ। अल्लाहले आफ्नो सत्य उपदेश दिनको निम्ति हामी मानवजातिमध्ये सामर्थ्यवान व्यक्तिलाई चुन्नु भयो । त्यही चुनिएका व्यक्तिहरुलाई आफ्नो दूत नियुक्त गरी वहाँहरुद्वारा आफ्नो प्रकाशना मानवजाति समक्ष पुर्याउने व्यवस्था गर्नु भयो।

लगभग एक लाख चौबिस हज्जार सन्देष्टाहरु अल्लाहको सन्देश लिएर यो संसारमा आउनु भयो र अन्तिम सन्देष्टाको रुपमा हजरत मुहम्मद (सल्ल.) आउनु भएको थियो। वहाँ कुनै वर्ग, जाति, समूदाय वा क्षेत्रको लागि नभएर सम्पूर्ण मानव जातिका लागि अन्तिम पथ-प्रदर्शकको रुपमा आउनु भयो । यस विषयमा अल्लाहले कुरआनमा भनेका छन् – وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِّلْعَالَمِينَ

अर्थः र, (हे मुहम्मद!) हामीले तिमीलाई सम्पूर्ण संसारवासीहरुका लागि दया मात्र बनाएर पठाएका छौं।कुरआनको सूरह अम्बिया, आयत-१०८

यसरी अल्लाहले सबै कुरा खुलस्त रुपमा बयान गरेका छन् । यसबाट हामी बुझ्न सक्छौ कि अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम मुसलमान मात्रका लागि नभई, सबै मानवको कल्याण र भलाईको लागि आएका हुन् ।

अब यो कुरा तिर प्रकाश पारौ कि हामी मानव कै निम्ति पथ प्रदर्शकको रुपमा अल्लाहले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमद्वारा के प्रकाशना पठाएका थिए । अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले अल्लाहको तर्फबाट एउटा पूर्ण जीवन पद्धतीको रुपमा इस्लाम धर्म लिएर आउनु भएको थियो ।

इस्लामको शाब्दिक अर्थ शान्ति हो । यसले सबै भन्दा पहिला मानवियको कुरा सिकाउँछ । यो एक मात्र यस्तो धर्म हो जसले धार्मिक सँग-सगै संसारिक जीवन पद्धतिको कुरा पनि सिकाउँछ ।

यस विशयमा कुरआनको सूरह आले इमरानमा भनिएको छः  إِنَّ الدِّينَ عِندَ اللَّـهِ الْإِسْلَامُ

अर्थः “निःसन्देह अल्लाहको नजिक इस्लाम नै साँचो धर्म हो। (सूरह आले इमरान, आयत नं. १९)

त्यस्तै कुरआनको अर्को ठाउँमा अल्लाहले भनेका छन्- ادْخُلُوا فِي السِّلْمِ كَافَّةً

अर्थः “हे मानवजाति हो ! इस्लाममा पूर्णरुपले प्रवेश गरि हाल। (सूरह अल बक़रा, आयत २०८)

हामी फेरी हेर्न सक्छौ कि अल्लाहले यसमा हामी मुसलमानलाई मात्र होइन सबै मानवजातिलाई केन्द्रित गरेर भनेका छन् कि यो इस्लाम धर्ममा पूर्ण रुपले प्रवेश गरिहाल भनेर । मैले यति इस्लामको बारेमा भने र हजुरको मनमा यो प्रश्न उठिराखेको होला कि अल्लाहले कसरी इस्लाम धर्म सिकाए भनेर । र अब म हजुरको यस प्रश्नप्रति प्रकाश पार्न चाहन्छु । अल्लाहले इस्लाम धर्म ईश्वरिय ग्रन्थहरुद्वारा सिकाएका हुन् । त्यो उच्च पंतिमा लिखित ईश्वरिय ग्रन्थ कुरआन हो । सबै कुरा जस्तै यो कुरआन पनि हामी सबैको लागि हो, जस्तै अल्लाहले कुरआनमा भनेका छन्- شَهْرُ رَمَضَانَ الَّذِي أُنزِلَ فِيهِ الْقُرْآنُ هُدًى لِّلنَّاسِ

अर्थः रमदान महिना त्यो महिना हो जुन महिनामा कुरआन उतारियो जो मानिसहरुका लागि प्रथ प्रदर्शक हो।(सूरह बकरा, आयत-१८५)

यसरी अल्लाहले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि इस्लाम र कुरआन सबै मानव जातिको हितको निम्ति हो भनेर प्रमाणित हुन्छ ।

अहिलेसम्म अल्लाहले जति ईश्वरिय ग्रन्थहरु पठाए त्यो सबैको उद्देश्य एक ईश्वरको उपासना हो । अब केही अझ अघि बढौ । तपाईहरुमध्ये हरेकको बुद्धिले यस कुराको गवाही दिन सक्छ कि संसारको कुनै पनि काम चाहे त्यो सानो होस् या ठूलो, कहिले सु-व्यवस्थित र नियमित रुपले संचालन हुन सक्दैन । जबसम्म कोही एउटा त्यसको जिम्मेवार तथा उत्तरदायि हुँदैन। एउटा विद्यालयका दुई हेड प्रधानाध्यापक, एउटा विभागको दुई डाइरेक्टर, एउटा फौजका दुई जना प्रधान सेनापति तथा एउटा राज्यका दुई सम्राट (राजा) भएको तपाईले कहिले सुन्नु भएको छ ? यदि कहिं यस्तो छ भने कि तपाई मान्नु हुन्छ कि एक दिनको लागि मात्र पनि त्यहाँको प्रबन्ध उचित तरिकाले चल्न सक्छ ? तपाई आफ्नो जीवनको सानो भन्दा सानो काममा पनि यसको अनुभव गर्न सक्नु हुनेछ कि जहाँ एउटा काममा एक भन्दा धेरै व्यक्तिको उत्तर दायित्वमा छोडिन्छ त्यहाँ अत्यन्त अ-व्यवस्था  हुने गर्दछ, लगाई, झगडा हुने गर्दछ, तथा अन्यौलको वातावरण सृजना हुन जान्छ । फलस्वरुप समझदारीको हण्डी एक दिन अवश्य फुट्छ ।

सु-प्रबन्ध, सु-व्यवस्था, समान्ता, नियमितता र एकता संसारमा जहाँ पनि तपाई देख्नु हुन्छ त्यहाँ निश्चित रुपले एउटै शक्ति वा कार्यकर्ताको हात हुन्छ । कुनै एउटै अस्तित्वप्रति अधिकार सम्मन्न तथा प्रभुत्व हुने गर्दछ । कुनै एउटाको हातमा कार्य सुत्रको उत्तर दायित्व हुने गर्दछ । त्यो बिना प्रबन्धको कल्पना गर्न सकिंदैन । यो यस्तो स्वभाविक कुरा हो जसलाई सानो बुद्धि हुनेले पनि स्वीकार्न संकोच नगर्ला ।

यस कुरालाई ध्यानमा राखेर आफ्नो छेउछाउतिर दृष्टिगत गर्नुहोस् । यो विशाल विश्व जुन तपाईको सामुन्ने फैलिएको छ । यी करोडौं नक्षत्र जुन आकाश मण्डलमा चक्कर लगाई रहेझैं देखिन्छ ।

यो पृथ्वी, जहाँ हामी बस्दछौ, यो चन्द्रमा जुन राती देखिन्छ, यो सूर्य जुन प्रत्येक दिन दिनमा उदाउने गर्दछ। यो शुक्र, यो मंगल, यो बुध, यो बृहस्पति र यि अन्य अनगिन्ती ताराहरु जुन भकुण्डोझै आफ्नो अक्षयमा घुमिरहका छन् । हेर्नुहोस् यी सबको परिक्रमा गर्ने व्यवस्था कति ठूलो कठोर नियमित छ । आफ्नो समय भन्दा अघि कहिल्यै रातको आगमन भएको देख्नु भएको छ ? आफ्नो समय भन्दा अघि दिनको कहिल्यै आगमन भएको देख्नु भएको छ ? चन्द्रमा धर्तिसँग कहिल्यै ठक्कर खाएको देख्नु भएको छ ? सूर्यले आफ्नो बाटो छोडेको छ ? कहिले अरु ताराहरु लेस मात्रमा पनि आफ्नो परिक्रमाको मार्गबाट हटेको देख्नु वा सुन्नु भएको छ ?

यी करोडौं ग्रहहरु मध्ये कुनै पृथ्वी भन्दा लाखौं गुणा ठूला छन् र केही त सुर्य भन्दा  पनि हज्जारौं गुणा ठूला छन् । यी सब घडिका पूर्जा झैं एउटा महान व्यवस्थामा कसिएका छन् तथा तोकिएको हिसाब बमोजिम आ-आफ्नो गति लिएका छन्, आ-आफ्नो निश्चित मार्गमा हिंडिरहेका छन् । न कसैको गतिमा लेस भरको अन्तर हुन्छ, न कुनै आफ्नो मार्गबाट लेस भर पनि पर सर्न सक्छ । तिनीहरुको परस्पर सम्बन्ध स्थापित गरिएको छ । यदि त्यसमा अल्प क्षणको लागि मात्र अन्तर भयो भने विश्वको व्यवस्था छिन्न-भिन्न हुन्छ । रेलहरु आपसमा ठक्कर खाए झैं ग्रहहरु एक अर्कासित ठक्कर खानेछन् ।

अब आफ्नो धर्ति र स्वयं आफुमाथि दृष्टि लगाएर हेरौं । यो माटोको भकुण्डो यो समस्त जीवनको खेल माथिको नियमद्वार स्थापित भएको छ । पृथ्वीको आकर्षणले सम्पूर्ण साधनलाई आफ्नो घरेमा लिई रहेको छ । क्षण भरको लागि पनि यदि यो आफ्नो बन्धनबाट मुक्त भयो भने सब कारखाना छिन्न भिन्न हुनेछ । यस कारखानामा जति कलपूर्जाहरुले कार्य गरिराखेका छन्, ति सबै एउटा यस्तो नियममा बाँधिएका छन् । जसमा कहिले पनि फरक पर्दैन । वायुले आफ्नो नियमको पालना गरिरहेको छ । पानी आफ्नो नियममा अटल छ । प्रकाश प्रति लगाइएको नियममा ऊ अटल तथा आज्ञाकारी छ । जाडो, गर्मी प्रति जुन नियम छ त्यसको ऊ दास छ । माटो, ढुंगा, धातु, बिजुली, बाफ, वृक्ष, जीव-जन्तु कसैमा आफ्नो सिमा भन्दा बाहिर जाने वा प्रकृतिलाई नै बदल्ने सामर्थ्य छैन । जुन काम उसलाई सुम्पिएको छ त्यही मात्र गर्दछ । करोडौं वर्ष देखि यो सृष्ठिको कार्य लगातार चलिरहेको छ । लाखौं वर्ष देखि यस धर्तिमा बोट विरुवा उम्रिरहेकाछन् । जीव-जन्तुहरु पैदा भई रहेका छन् । अनि युगौं युग देखि मानव जातिको जीविका चलिरहेको छ । ती जीवित पनि छन् । कहिले पनि चन्द्रमा पृथ्वीमा खस्ने सम्भावना रहेन र पृथ्वी सूर्यसँग टक्कर खाने । कहिले दिन र रातको हिसाबमा फरक परेन । कहिले वायुको पानी सित झगडा भएन । कहिले पानीले माटोसँगको द्वेष राखेन । आखिरी यो साम्राज्यका समस्त प्रान्त, समस्त विभाग, समस्त जीवीत कुन प्रकारले व्यवस्थि र नियमित रुपमा चलि राखेको छ । किन यिनीहरुको आपसी युद्ध हुँदैन ? किन विद्रोह उत्पन्न नभएको होला ? कुन साधनले यो सब व्यवस्थामा बाँधिएका छन् ? यसको उत्तर आफ्नो हृदयलाई सोध्नुहोस् ? कि उसले गवाही दिन नसक्ला ? कि एउटै सर्वशक्तिमान ईश्वर यस समस्त विश्वको प्रभु हुन् ।  एउटैको आज्ञा अनुसार सबैथोक संचालित छन् । एउटैको महान शक्तिले सबैलाई आफ्नो विराट व्यवस्थामा बाँधी राखेका छन् । यदि दश बिस नभई केवल दुई ईश्वर मात्र भएको भए विश्वको व्यवस्था यसरी नियमित रुपमा चल्न असम्भव हुने थियो । एउटा साधारण पाठशाला त दुई जना प्रधानाध्यापकद्वारा संचालित हुन असम्भव छ भने यस महान पृथ्वी र आकाशको साम्राज्य दुईजना प्रभुको प्रभुत्वमा कसरी सन्चालन हुन सक्छ र ? यसकारण यो मात्र सत्य होइन कि यो समस्त विश्व कुनै निर्माणकर्ता बिना बनेन । बरु यो पनि सत्य हो यो विश्वलाई एउटैले निर्माण गर्यो । यसैगरी यो मात्र सत्य होइन कि यस विश्वको प्रबन्ध कुनै शासक विना शासित छैन । बरु यो पनि सत्य हो कि यसको शासक एउटै छ । प्रबन्धकको सु-व्यवस्थाले खुल्ला रुपले बताई रहेको छ कि यहाँ एउटाको सिवाय कसैको हातमा राज्यको बागडोर अर्थात राज्यधिकार छैन । व्यवस्थाको नियमबाट नै जानकारी भई रहेको छ कि यस साम्राज्यको एउटा हाकिमको अतिरिक्त कसैको आज्ञा चल्न सक्दैन । कानूनको दृढताले साक्षी दिई रहेको छ कि एउटै सम्राटको साम्रराज्य धर्ति देखि आकाशसम्म स्थापित छ । हावा र पानी उसैका दास हुन् । नदी र पर्वत उसै प्रति बफादार र आज्ञाकारी छन् । वृक्ष, वनस्पति तथा जीव जन्तु सबैले उसैको आज्ञाको पालन गरिराखेका छन् । मानव जातिले सृजना गर्नु, पालन पोषण गर्नु र हरण गर्नु उसैको आज्ञामा आधारित छ । उसको शक्तिशाली बन्धनले सबैलाई जोडेर राखेको छ । उसको राज्यमा आफ्नो आदेश चलाउन खोज्ने सकैको साहस छैन । यो वास्तविकता हो कि यस समस्त व्यवस्थामा एक भन्दा अधिक आज्ञादाता हुनै सक्दैन । व्यवस्थाको प्रकृतिले यो चाहन्छ कि आज्ञा लागु गर्नमा कण मात्र पनि कोही उसको सहयोगी नहोस् । उ एक्लो आज्ञाकर्ता होस् र उ बाहेक अन्य सबै आज्ञाकारी हुन् । किन भने कुनै अर्काको हातमा राज्यका साधारण अधिकार हुनु नै अव्यवस्था हो, विद्रोह हो । राज्य संचालनको लागि शक्ति मात्र होइन ज्ञानको पनि आवश्यकता पर्छ । यस्तो वृस्तित दृष्टि आवश्यकता छ जसले समस्त विश्वलाई एकैचोटी हेर्न सकोस् । उसको भलाई चाहेर आज्ञा जारी राख्न सकोस् ।

यदि विश्वमा एक ईश्वर बाहेक अन्य साना तिना ईश्वरहरु भएका भए उनीहरुले विश्व दर्शक दृष्टि त परै जावस् बरु संसारको कुनै अंश वा कुनै विश्वमा आज्ञा चलाउने अधिकार पाएको भए पनि यो धर्ति आकाशको समस्त कारखान ध्वस्त र छिन्नभिन्न हुने थियो । एउटा साधारण मेसिनको विषयमा पनि यदि कुनै यस्तो व्यक्तिलाई अधिकार दियो जो त्यो मेसिनसित राम्ररी परिचित छैन भने निश्चय नै उसले  मेसिनलाई बिगार्ने छ, बर्बाद पार्ने छ । यसकारण बुद्धि र विवेकले यो निर्णय गर्दछ कि धर्ति र आकाशको समस्त साम्राज्यको नियमित संचालनले यस साम्राज्यको राज्यअधिकारमा केवल एक ईश्वर बाहेक कसैको कण अर्थात लेस मात्र पनि सहभागित छैन भन्ने प्रमाण दिन्छ ।

यो कुनै एउटा वास्तविकता मात्र होइन बरु सत्य यो हो कि ईश्वरको ईश्वरीय सृर्जनमा एक ईश्वर बाहेक कसैको आज्ञा चल्ने कुनै कारण नै छैन । मानिसले जसलाई आफ्नो हातले निर्माण गरेको छ जुन उसको सृष्टि हो, जसको अस्तित्व उसको दयामा स्थापित छ, जो उसको वास्ता नगरी स्वयं आफ्नो शक्तिमा एक छिन पनि रहन सक्दैन, भने तिनीहरु मध्ये कोही ईश्वरत्वमा हिस्सेदार बन्न सक्ने हैसियत राख्न सक्छ त  ?

कुनै नोकरलाई मालिकको अनुपस्थितमा मालिक भएको देख्नु भएको छ ? के कुनै मालिकले आफ्नै दासलाई आफ्नो मालिक बनाउँछ भन्ने मिथ्या कुराको कल्पना गर्न सक्नु हुन्छ ? के तपाईहरुले आफ्नो नोकरहरुलाई आफ्नो अधिकारमा हिस्सेदार बनाउन सक्नु हुन्छ ?  यस कुराप्रति विचार पुर्याउनु भयो भने तपाईको आत्माले गवाही दिने छ कि ईश्वरको यस साम्राज्यमा स्वतन्त्र रुपमा राज्य गर्ने कुनै अधिकार कसैलाई छैन । यस्तो हुनु बुद्धिको मात्र होइन बरु प्रकृति एवं सत्यको पनि विरुद्ध हो । त्यसैले इस्लामले भन्छ कि हे मानव जातीहरु हो तिमीहरु सबै एक ईश्वरको उपासना गर र उसैतर्फ फर्केर आऊ ।

 

साभार तथा स्रोतः  लेखक- हफ्सा खाँन

नोटः ‘ईस्लामको प्रकाश’ नेपाली भाषामा प्रसारण हुने रेडियो ईस्लामी कार्यक्रम हो । यो कार्यक्रम गोर्खा एफ.एम ९३ MHz मा हरेक बुधवार साँझ ६ बजेदेखी ६:३० बजेसम्म प्रसारण हुन्छ । यस कार्यक्रमको निर्माता ईस्लामी संघ नेपाल हो ।  

 

          

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply