New Muslims APP

शाबान महिनाको महत्व र यस सम्बन्धी केही बिकृतीहरु

शाबान

शाबान महिनाको महत्व र यस अवसरमा गर्न नहुने कार्य… कुरआनको र हदीसको प्रमाणबाट

शाबान महिना अरबी क्यालेन्डरको आठौं महिना हो, जुन दुईवटा महत्वपूर्ण महिना रजब र रमजानको बीचमा पर्दछ । यस महिनामा अरबका मानिसहरु विभिन्न समूहमा विभाजित भई भ्रमणका लागि निस्कन्थे । त्यसकारण यस महिनाको नाम “शाबान” रहेको हो ।

शाबानमहिनाको महत्व 

“शाबान” महिनाको अधिकांस दिनहरुमा मुहम्मद (स.) रोजा (ब्रत) बस्नु हुन्थ्यो । हजरत आयशा (रज़ि) भन्नुहुन्छ कि मैले नबी (स.) लाई रमजान बाहेक अरु कुनै महिनामा पुरा महिना भरि नै रोजा बसेको पाइन र शाबान महिना भन्दा बढी अरु कुनै महिनामा रोजा बस्नु भएन। (हदीसको संग्रह- बुखारी)

नबी (स.) लाई शाबानमा धेरै रोजा बस्नुको कारण सोध्दा उहाँले जवाफ दिनुभयो- “यस महिनामा मानिसहरुको कर्म अल्लाह समक्ष पेश गरिन्छ र म चाहन्छु कि मेरो कर्मपत्र म रोजा बसेको अवस्थामा पेश गरियोस् । (हदीस-नसई)

मुहम्मद (स.) शाबान महिनाको अधिकांश दिनहरुमा रोजा बसेपछि पूरा महिना भरिनै रोजा बस्नु हुन्नथ्यो । इब्ने अब्बास र हजरत आयशा (रज़ि) भन्नुहुन्छ, नबि (स.) रमजान बाहेक अरु कुनै महिनामा पूरा महिनाभरीको रोजा बस्नु भएन । (हदीसको संग्रह- बुखारी र मुस्लिम)

शाबान महिनाका रोजाहरु रमजानका अनिवार्य रोजाको अभ्यास भएपनि नबि (स.) ले रमजान शुरु हुनुभन्दा पहिलेका दुई दिन रोजा नबस्न आदेश दिनुभएको छः “कुनै व्यक्तिले रमजान भन्दा एक वा दुई दिन पहिले रोजा नराखोस् तर यदि यस्तो दिन आयो जुन दिन कुनै व्यक्ति संधै रोजा बस्थ्यो भने ऊ त्यस दिन रोजा बसोस् ।” (बुखारी)

शाबानमा प्रसस्त रोजा राख्नु सही हदीसहरुबाट साबित छ र यही नै सुन्नत तरिका हो। नबि (स.) ले यस महिनामा धेरै रोजा बस्नुले यस महिनाको महत्वको उजागार गर्दछ। त्यस बाहेक यस महिनाको महत्वको नाममा जे-जे कुरा बयान गरिन्छ अथवा जेजति कामहरु गरिन्छ, त्यसमध्ये अधिकांश कुराहरु सुन्नबाट साबित छैनन्  र ती सुन्नत विपरीत कार्यहरु हुन् । शाबानसँग सम्बन्धित केही आस्था र कर्महरु जुन कुरआन र सहिह हदीसबाट प्रमाणित छैनन् ।

शाबानको रातमा कुरआन अवतरित भएको हो ?

शाबान महिनाको महत्वलाई बयान गर्दै यो कुरा बयान गरिन्छ, कि कुरआनको अवतरण १५ शाबान (शबे बारात) को रातमा अवतरित गरिएको हो जसको प्रमाणका रुपमा कुरआनको यस आयातलाई प्रस्तुत गरिन्छ।

हामीले यस कुरआनलाई एक बरकतयुक्त रातमा अवतरित गर्यौ (कुरआन सुरह- अद् दुखान, आयत-३)

यहाँ बरकतयुक्त रातको तात्पर्य १५ शाबानलाई लिइन्छ जबकी कुरआन स्पष्ट रुपमा भन्दछ कि कुरआनको अवतरण शाबानमा नभई रमजानको महिनामा भएको होः “रमजान त्यो महिना हो जसमा कुरआन अवतरित गरियो” (कुरआन सुरह, अल बक़र, आयत-१८५)

अर्को स्थानमा कुरआन भन्दछ, “निसन्देह हामीले यस (कुरआन) लाई कद्रको रातमा अवतरित गर्यौ” ….(कुरआन सुरह अल कद्र, आयत-१)

कुरआनका यी दुई श्लोकबाट प्रमाणित हुन्छ कि कुरआनको अवतरण र रमजान महिनामा कद्रको रातमा भएको थियो र कुरआन सूरह-अद् दुखान, आयत-३ मा आएको शब्द “बरकतयुक्त रात” को तात्पर्य  पनि रमजान कै “कद्रको रात” हो । कुरआनको अवतरण शाबान (शबे बरात) मा भएको हो भन्नु अत्यन्तै झुटो कुरा हो ।

मुर्दाहरुका आत्माहरु आउँछन् त ?

केहि व्यक्तिहरुको यो विश्वास छ कि १५ शाबानको रातमा मरिसकेका मानिसहरुका आत्माहरु यस संसारमा आउँछन्, आफ्ना आफन्तहरुका माझमा गएर तिनीहरुलाई हेर्दछन् । जबकि यो पूर्णतया कुरआनको शिक्षा विपरित छ । कुरआनमा भनिएको छः “अब यिनीहरुका पछाडी एउटा बरजख(पर्दा) हुनेछ। त्यस दिनसम्मका लागि जुन दिन यिनीहरुलाई उठाइने छ।” (कुरआन  सूरह अल् मुअमिनून, आयत-१००)

अर्थात अल्लाहले एउटा रोकावट कायम गरेको छन् जसकारण आत्माहरु यस संसारमा आउने छैनन्, यहाँसम्म कि “कयामतको दिन आउने छ र त्यस दिन सबै भन्दा पहिले नबि (स.) लाई उठाइनेछ । मुहम्मद (स.) ले भन्नुभयोः कयामतको दिन सब भन्दा पहिले म उठाइनेछु।”

 १५ शाबानको दिन विशेष रुपमा हलुवा पकाउनु जायज होला त ?

केहि मुस्लिमहरुले १५ शाबानका दिन हलुवा पकाएर खाने गरेका छन्, र प्रमाण स्वरुप उहुदको युद्धको घटनालाई प्रस्तुत गर्दछन् । उहुदको युद्धमा मुहम्मद (स.) को दाँत शहीद भएको थियो। त्यस कारण उहाँ (स.) ले हलुवा खानु भएको थियो । त्यसैले हामीहरु पनि हलुवा खान्छौं भन्ने तर्क उनीहरु प्रस्तुत गर्छन् ।

यो हदैसम्मको अज्ञान्ताको कुरा हो कि १५ शाबानको कुनै घटनाको रुपमा उहुदको युद्धलाई प्रस्तुत गर्न, किनकि उहुदको युद्ध ३ शव्वालमा भएको थियो । १५ शाबानको घटनालाई ३ शव्वाल(१० औं महिना) का दिन भएको थियो। १५ शाबानको घटनासँग अन्तर सम्बन्धित गर्न खोज्नु हदैसम्मको मूर्खता हो र इस्लाममा यसको कुनै सम्बन्ध छैन ।

१५ शाबानका रातमा विशेषरुपमा कब्रस्तान(चिहान) को भ्रमण गर्नु, त्यहाँ दियो जलाउनु ?

कुनै पनि दिन वा कुनै पनि बेला कब्रस्तानमा जाने र चिहानमा रहेका व्यक्तिहरुका लागि दुआ (प्रार्थना) गर्ने अनुमति नबि (स.) ले दिनु भएको छ तर विशेष गरी १५ शाबानकै राति कब्रस्तान जाने कुनै प्रमाण छैन ।

कब्रस्तान जानुको उद्देश्य मृत्युलाई याद गर्न हो तर यो विशेष समयमा कब्रस्तानलाई सजाउनु र त्यहाँ मेला लगाउनुले त्यहाँ जानुको उद्देश्यको नै मृत्यु हुने गरेको छ । कब्रस्तानमा नमाज पढ्न र सज्दा गर्न समेत नबि (स.) ले सख्त मनाही गर्नु भएको छ । नबि (स.) ले भन्नु भयोः अललाहको तिरस्कार होस् यहुदी र ईसाईहरुमाथि, तिनीहरुले आफ्ना नबिहरुका कब्र (चिहान) हरुलाई प्रार्थना गर्ने थलो बनाए।” (बुखारी र मुस्लिम)

१५ शाबानका दिन रोजा बस्नु, विशेष प्रार्थना र नमाज पढ्नु, सूरह यासिनको तिलावत(पाठ) गर्नु ?

१५ शाबानका दिन रोजा बस्ने र त्यसको पूण्य ६० वर्षको बराबर हुने आशा राख्नु, सय रकआत नमाज पढ्नु, सूरह यासिन पढ्नु र यो आस्था राख्नु की यस रात धेरै संख्यामा मानिसहरुले क्षमा पाउँछन्, आफ्ना १० नर्कवासी आफन्तको पक्षमा सिफारिस गर्ने अनुमति पाउँछन् भन्ने कुरा सहीह हदीसका साथ नबि (स.) बाट प्रमाणित छैनन् र न १५ शाबानलाई संकेत गरेर नबि (स.) ले कुनै किसिमको कर्म वा प्रार्थना नै गर्ने हुकुम दिनुभयो। नबि (स.) का साहबाहरुबाट समेत त्यस्तो कुनै कार्यको प्रमाण भेटिंदैन ।

यद्दपि यदि कोही हरेक महिनाको अयामे बीज अर्थात प्रत्येक महिनाको १३,१४ र १५ तारिखको रोजा बस्ने गरेको छ भने शाबानमा पनि ती रोजाहरु बस्न सकिंन्छ किनभने त्यहाँ १५ शाबानको महत्व बाँकी रहँदैन ।

केहि मानिसहरुको तर्क यो हुन्छ कि कुरआन र हदीसबाट प्रमाणित नभएपनि १५ शाबानका दिन विशेष प्रार्थना नै गर्नुमा के खराबी छ र ? उल्लेखनिय छ कि कुनै पनि कर्म अल्लाहसमक्ष स्वीकार्य हुनका लागि दुई शर्तहरु पूरा हुनुपर्छः- इमानका साथ सही नियत र मुहम्मद (स.) ले बताउनु भएको तरिका ।

यहाँ एउटा हदीस प्रस्तुत गर्न सान्दर्भिक सम्झन्छु,

तीनजना सहाबीहरुले हजरत आयशा (रजि.) सँग नबि (स.) को दिनचर्या र प्रार्थनाको बारेमा सोधे। हजरत आयशा (रजि.) ले दिनु भएको जवाफ सुनेर ती सहाबीहरुले आफ्ना कर्म र प्रार्थनालाई कम सम्झे जसकारण उनीहरुमध्ये एकजनाले संधै रातभरि नमाज पढ्ने निधो गरे, अर्कोले संधै रोजा बस्ने र तेश्रोले कहिल्यै पनि विवाह नगरी संधै प्रार्थना गर्ने अठोट गरे । नबि (स.) ले उनीहरुसँग भेट्दा सोध्नु भयो, “के तिमीहरुले नै यो कुरा भनेका हौ, अनि जबाफ दिनुभयो अल्लाहको कसम म सबैभन्दा बढी अल्लाहसँग भय राख्दछु । तैपनि म रोजा बस्छु र कहिले काँही बस्दिन पनि, म सुत्छु पनि र विवाह पनि गरेको छु । जो कसैले मेरो अनुसरण गर्दैन त्यो हामी मध्येको होइनन्” (सही बुखारी) यहाँ तीनजना सहाबीहरुले पनि प्रार्थना गर्ने निर्णय गरेका थिए तर त्यो नबि (स.) को सुन्नत नभएकोले नबि (स.) ले तिनीहरुलाई त्यो त्याग्न आदेश दिनुभयो।

कुनै एक व्यक्ति रमजान भन्दा एक वा दुई  दिन पहिला रोजा नराखोस् तर यदि यस्तो दिन आयो जुन दिन कुनै व्यक्ति संधै रोजा बस्थ्यो भने ऊ त्यस दिन रोजा बसोस्। (बुखारी)

इस्लाम एउटा सम्पूर्ण जीवन व्यवस्था हो र यसमा कुनै पनि कमीबेसी गर्ने आवश्यकता छैन । अल्लाहले कुरआनमा भनेका छनः आज मैले तिमीहरुको दीन (जीवन पद्धती) लाई तिमीहरुका निम्ति पूर्ण गरेको छु र तिमीहरुप्रति आफ्नो अनुग्रह पूर्ण गरिदिएको छु । (कुरआन सूरह अल माइदा आयत-३)

नबी (स.) ले भन्नुभयोः “कुनै यस्तो कुरा छैन जसले तिमीहरुलाई स्वर्गको नजीक पुर्याउने छ तर ती सब कुराहरु जुन मैले तिमीलाई बताएँ र यस्तो कुनै कुरा छैन जसले तिमीहरुलाई नर्कको निकट लिएर जाओस् । तर ती सब कुराहरु जसबाट मैले तिमीहरुलाई सचेत गराएँ।” (अहमद)

अतः कुनै पनि कर्म सुन्नत अनुसार हुनुपर्छ । यदि त्यो मुहम्मद (स.) को तरिका बमोजिम छैन भने त्यो रद्द गरिनेछ किनभने मुहम्मद (स.) को भनाई छः “जो कसैले कुनै यस्तो कार्य गर्छ जुन यस धर्ममा थिएन भने त्यो रद्द गरिने छ ।” (सहीह मुस्लिम)

नबी (स.) ले धर्मको नाममा विकाश गरिने हरेक नयाँ कुराहरुबाट बच्न आदेश दिनुभयो । वहाँले भन्नु भयोः “जो म पछि जीउँदो रहने छन् उनीहरु धेरै मतभेदहरु देख्नेछन् (यस्तो समयमा) तिमीहरुले मेरो सुन्नतलाई अवश्य समाती राख्नु र त्यसलाई दाँतहरुले मजबुतिकासाथ समातीराख्नु र दीन (धर्म) मा नयाँ विकशित कुराहरुबाट बच्नु किनभने दीनमा हरेक नयाँ कुराहरु विदअत हुन् र हरेक विदअत पथभ्रष्टता हो र हरेक पथभ्रष्टताले आगो (नर्क) मा पुर्याउँदछ।”  (हदीसको संग्रह- अहमद, अबूदाउद, तिर्मिजी, इब्नेमाजा)

कयामतको दिन पनि नबि (स.) को तरिका विरुद्ध काम गर्ने व्यक्तिहरुलाई तिरस्कृत गरिनेछ । नबि (स.) भन्नुभयो- “म सबै भन्दा पहिले हौजे कौसरमा जानेछु, जो कोही त्यहाँ आउनेछन् त्यसबाट खानेछ उसलाई फेरी तिर्खा लाग्ने छैन । हौजे कौसरमा यस्ता व्यक्तिहरु पनि आउने  छन् जसलाई म चिन्ने छु उनले मलाई चिन्ने छन् फेरी मेरो र उनीहरु बीचमा रोकावट कायम गरिनेछ- म भन्नेछु यिनीहरु मेरो उम्मतका मानिसहरु हुन, जवाफ फर्काइनेछ- तपाईलाई थाहा छैन कि यिनीहरुले तपाईपछि दीनमा के के नयाँ कुराहरु विकास गरे, तब म भन्नेछु यिनीहरुलाई भगाउ जसले मेरो दीनलाई परिवर्तन गरेका थिए।” (बुखारी र मुस्लिम)

अतः शाबान महिनाको सन्दर्भमा जुन कुरा मुहम्मद (स.) बाट प्रमाणित छ त्यो यो हो कि यस महिनामा धेरै रोजा बस्नु । यस बाहेक जे-जति कार्यहरु छन् त्यो नबि (स.) सहीह सुन्नतबाट प्रमाणित छैनन् । यस्ता नव विकसित कुराहरुलाई त्याग्नु आवश्यक छ। नत्र हामीहरु यो संसारमा मतभेदको सिकार बन्नेछौं र मृत्युपछिको जीवनमा धिक्कार र तिरस्कृत बाहेक केही प्राप्त हुनेछैन ।

लेखकः अजिजुल्लाह अन्सारी

मधुर सन्देश मासिक

२०७१ आषाढ

 

 

 

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply